पत्ता लाग्यो कपाल झर्ने कारण
 

युवावस्थामै सेताम्य फूलेका कारण तपाईं ऐना हेर्न डराउनुहुन्छ? वा कपाल काट्न जाँदा कपालको संख्याभन्दा धेरै पैसा तिर्नुपरेकोमा चिन्तित बन्ने गर्नुहुन्छ? यदि त्यसो हो भने अब धेरै समय चिन्ता लिनु नपर्ने देखिएको छ। 
वैज्ञानिकहरुले दुर्घटनावश यसको कारण पत्ता लगाएका छन् र अबको केही समयमा कुनै क्रिम वा मलमले यो समस्या समाधान गर्न सक्ने देखिएको छ।
एक प्रकारको क्यान्सर ट्युमर कसरी बन्छ भन्ने अध्ययन गर्दै जाँदा वैज्ञानिकहरुले कपाल फूल्न र उम्रिन जिम्मेवार कोशिका पत्ता लगाएका हुन्। यो जानकारी कपाल झर्ने र फुल्ने समस्याको समाधानतर्फ एक महत्वपूर्ण खुड्किलो भएको जनाइएको छ।
‘यो परियोजना निश्चित खालका ट्युमर किन बन्छ भन्ने जान्नका लागि सुरु भएको थियो तर हामी कपाल फुल्ने कारण र कपाल बढाउन जिम्मेवार कोशिका पहिचान गर्न पुग्यौँ।’ अमेरिकाको टेक्सासस्थित एक मेडिकल सेन्टरका चर्मरोग विशेषज्ञ प्राध्यापक डा. लु लेले भने, ‘यो ज्ञानले कुनै दिन यो समस्याको समाधानमा सहयोग पुर्याउनेछ।’
‘जिन्स एन्ड डेभेलपमेन्ट’ नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार वैज्ञानिकहरुले केआरओएक्स२० नामक प्रोटिन पत्ता लगाएका छन्, जसका कारण छालामा कपाल उम्रिन्छ।
यही प्रोटिनले स्टेम सेल फ्याक्टर नामक अर्को प्रोटिन उत्पादन गर्दछ, जसले कपालको रङ निर्धारण गर्दछ।
मुसामा गरिएको अनुसन्धानका क्रममा जब वैज्ञानिकहरुले स्टेम सेल फ्याक्टर वंशाणुलाई डिलिट गरिदिए तब मुसाको रौँ सेतो बन्न पुग्यो। तर जब उनीहरुले केआरओएक्स२० कोशिकालाई नै हटाइदिए, तब मुसाको रौँ पलाउन बन्द भयो र रौँविहीन अर्थात् तक्लु बन्न पुग्यो।
अब भविष्यका अनुसन्धानहरु कोशिकाहरुमा केआरओएक्स२० र स्टेम सेल फ्याक्टरले मानिसको उमेर बढ्दै जाँदा किन काम गर्न छोड्छ भन्ने प्रश्नमा केन्द्रित हुने जनाइएको छ।
यसले कालान्तरमा मानिस किन बुढो हुँदै जान्छ भन्ने प्रश्नको उत्तर पनि दिने अपेक्षा राखिएको छ। एजेन्सी
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
